Rule 22E
सामुदायिक शिक्षकको नियुक्ति सम्बन्धी व्यवस्था
(१) समुदायद्वारा सञ्चालित विद्यालयमा कुनै सामुदायिक शिक्षकको पद रिक्त हुन आएमा व्यवस्थापन समितिले त्यस्तो पद खुला प्रतियोगिताबाट पूर्ति गर्नको लागि रिक्त पद संख्या, आवश्यक न्यूनतम योग्यता, दरखास्त बुझाउने स्थान तथा अन्तिम मिति, परीक्षा हुने मिति र स्थान समेतको विवरण खुलाई कम्तीमा तीस दिनको म्याद दिई विज्ञापन गर्नु पर्नेछ र त्यसरी विज्ञापन भएको कुरा सबैले थाहा पाउने गरी सम्बन्धित विद्यालय, स्थानीय निकाय र जिल्ला शिक्षा कार्यालयको सूचना पाटीमा टाँँस
गर्नु पर्नेछ । जिल्ला शिक्षा कार्यालयले कुनै पत्रिका वा बुलेटिन प्रकाशन गरेको भए व्यवस्थापन समितिले त्यस्तो पत्रिका वा बुलेटिनमा समेत सो विज्ञापन प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीको पद रिक्त भए पनि तृतीय श्रेणीको पद मानी पूर्ति गरिनेछ ।
(३) उपनियम (१) बमोजिम प्रकाशित विज्ञापनमा देहायका व्यक्ति उम्मेदवार हुन पाउने छन्ः–
(क) ऐन तथा शिक्षक सेवा आयोग नियमावली, २०५७ बमोजिम शिक्षक पदमा नियुक्त हुन योग्यता पुगेको व्यक्ति,
(ख) अन्य सामुदायिक विद्यालयका स्थायी शिक्षक ।
(४) उपनियम (१) बमोजिम प्रकाशित विज्ञापन अनुसार उम्मेदवार छनौट गर्न देहाय बमोजिमको परीक्षा लिइनेछः–
(क) लिखित परीक्षा                  १०० अङ्क
(ख) प्रयोगात्मक परीक्षा            २५ अङ्क
(ग) अन्तर्वार्ता                          २५ अङ्क
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि विषयको प्रकृति हेरी आवश्यक ठानेमा मात्र शिक्षक छनौट समितिले प्रयोगात्मक परीक्षा लिने सक्नेछ ।
(६) लिखित परीक्षाको पाठ्यक्रम आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
(७) लिखित परीक्षा र प्रयोगात्मक परीक्षाको उतीर्णाङ्क क्रमशः पैंतीस र दश अङ्क हुनेछ ।
(८) उम्मेदवारको लिखित परीक्षा र प्रयोगात्मक परीक्षा लिएको भए सो समेतमा उतीर्ण भई सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरुलाई अन्तर्वार्ताको निमित्त छनौट गरिनेछ ।
(९) अन्तर्वार्ताको कुल २५ अङ्क मध्ये अनुभव वापत प्रत्येक वर्षको एक अङ्कका दरले बढीमा दश अङ्क, शैक्षिक योग्यता वापत सेवा प्रवेशको लागि तोकिएको शैक्षिक योग्यताको प्रथम श्रेणी भए तीन, द्वितीय श्रेणी भए दुई र तृतीय श्रेणी भए एक अङ्कका दरले बढीमा तीन अङ्क र अन्तर्वार्ता वापत बढीमा बाह्र अङ्क दिइनेछ ।
(१०) शिक्षक छनौट समितिले लिखित परीक्षा र प्रयोगात्मक परीक्षा लिएको भए सो परीक्षामा सफल भएका उम्मेदवारको अन्तर्वार्तामा प्राप्त गरेको अङ्क जोडी सबै परीक्षाको कुल अङ्क सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारको नाम नियुक्तिको लागि सिफारिस गरी नियम २२ङ. को उपनियम (१) बमोजिमको स्थानमा सूचना प्रकाशन गर्न पर्नेछ । त्यसरी सिफारिस गर्दा उपलब्ध भएसम्म रिक्त पदसंख्याको दश प्रतिशतले हुने स‌ंख्या वा कम्तीमा एकजना मध्ये जुन बढी हुन्छ सो संख्याको उम्मेदवारको नाम वैकल्पिक सूचीमा राख्नु पर्नेछ ।
(११) उपनियम (१०) बमोजिम नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्तिको सूचना प्रकाशित भएको वा सूचना पाएको मितिले तीस दिनभित्र नियुक्ति पत्र लिनु पर्नेछ । सो म्याद भित्र नियुक्ति पत्र नलिएमा वा नियुक्ति पत्र लिएको तीस दिनभित्र विद्यालयमा हाजिर नभएमा वा त्यस्तो उम्मेदवारको मृत्यु भई वा अन्य कुनै कारणले एक वर्षभित्र सो पद रिक्त भएमा व्यवस्थापन समितिले वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई योग्यताक्रमानुसार नियुक्ति गर्न सक्नेछ ।
(१२) उपनियम (११) बमोजिम उम्मेदवारलाई सामुदायिक शिक्षक पदमा नियुक्ति गर्दा व्यवस्थापन समितिले एक वर्षसम्म परीक्षण कालमा रहने गरी नियुक्ति दिनेछ । तर महिला शिक्षिकाको हकमा छ महिना मात्र परीक्षणकाल हुनेछ ।
(१३) उपनियम (१२) बमोजिम परीक्षणकालमा रहेको कुनै शिक्षककाे कार्य सन्तोषजनक नपाएमा व्यवस्थापन समितिले त्यस्तो शिक्षकलाई पदबाट हटाउनेछ ।
(१४) उपनियम (१०) बमोजिम सिफारिस भएको उम्मेदवार सामुदायिक विद्यालयको स्थायी शिक्षक भएमा निजले अघि गरेको स्थायी सेवा अवधि समेत जोडिनेछ ।
२२च……………